बुटवल । हालै सार्वजनिक कक्षा १२ को परीक्षाफलमा उत्तिर्ण भएका विद्यार्थीहरुलाई मणिमुकुन्द माध्यमिक विद्यालय÷कलेजले सम्मान गरेको छ । कलेजमै आयोजित कार्यक्रममा विज्ञान र व्यवस्थापन संकायबाट कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले अरुको लहैलहैमा लागेर विदेश पढ्न जानु उचित नभएको विद्यार्थीहरुलाई सम्झाए । विदेशमा पहिले जस्तो सजिलो नभएको र त्यहां गएपछि नेपाल फर्किने सम्भावना ज्यादै कम हुने भएकाले नेपालमै बसेर पढ्न र अवसरको खोजी गर्न सुझाव दिए । विदेश पढ्न जानै परे कम्तीमा स्नातक तह नेपालमा गरेर परिपक्व भएर स्नातकोत्तर पढ्न गएमा राम्रो हुने सुझाव दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश लोकसेवा आयोग कार्यालय बुटवलका उपसचिव यमकान्त पाण्डेले विदेशमा सबै राम्रो छ, नेपालमा केही अवसर छैन भन्ने भाष्य गलत भएको भन्दै नेपालमै राम्रो अवसर र सम्भावना भएकाले यहीं बसेर पढ्न आग्रह गरे । निजामति सेवा र निजी क्षेत्रमा समेत राम्रो अवसर भएकाले नेपाललाई नै प्राथमिकता दिन उनले सुझाव दिए । पाण्डेले विषय र कलेज छनोट गर्दा साथीको बहकाउमा लागेर होइन आफ्नो रुचि र क्षमता अनुसारको विषय र कलेज रोजेर पढ्न आग्रह गरे ।
कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले संस्थाले विद्यालय तह र बीबीएस दुबैमा स्थापनाकालदेखि नै उत्कृष्ट नतिजा ल्याउंदै त्यसलाई निरन्तरता दिन सफल भएको बताए । उनले विदेशमा पढ्न जानेहरुले धेरै खाले समस्या भोग्नुपरेको उदाहरण दिंदै आफ्नै ठाउंको उत्कृष्ट कलेजहरुमा पढ्दा राम्रो हुने सुझाव दिए । उनले कलेजबाट १२ उत्तिर्ण गरेका विद्यार्थीलाई टियू अन्तर्गतको बीबीएस भर्नामा निःशुल्क गरिएको समेत जानकारी गराए ।
संस्थाका सह प्राचार्य दिवाकर खनाल, बिबिएस संयोजक दिनेश पाण्डे , प्राध्यापक दीपक लामिछानेले व्यवस्थापन संकाय पढ्न चाहने विद्यार्थीले अरु भन्दा टियूको बीबीएस कोर्स पढ्दा शुल्क धेरै सस्तो र भविष्य पनि राम्रो हुने प्रष्ट पारे ।
संस्थाका व्यवस्थापन संयोजक पशुपति चौधरीले मणिमुकुन्दले दिंदै आएको उत्कृष्ट नतिजाका कारण विद्यार्थी र अभिभावकको रोजाई बन्न सकेको बताए ।
विद्यार्थी सुजल थापाले मणिमुकुन्दमा राम्रो शैक्षिक वातावरण र शिक्षकहरुको उचित मार्गनिर्देशनले विद्यार्थीले राम्रो नतिजा हासिल गर्दै आएको बताए ।