काठमाण्डौ । नेपालमा बालबालिकाको सङ्ख्या ९८ लाख ६९ हजार पाँच सय ८३ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनामध्ये बालक ५१ लाख १४ हजार पाँच सय पाँच र बालिका ४७ लाख ५५ हजार ७८ रहेको तथ्याङ्कमा उल्लेख छ ।
यो जन्मदेखि १८ वर्षसम्मको उमेर हो । यसमा बालकभन्दा बालिकाको सङ्ख्या तीन लाख ५९ हजार चार सय २७ ले कम छ । समग्रमा २०५८ देखि २०६८ सालसम्मको तुलनामा २०६८ देखि २०७८ सालसम्ममा झन्डै १२ लाखको सङ्ख्यामा कम बालबालिका जन्मेका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदन आज सार्वजनिक गरेको हो । तथ्याङ्क कार्यालयका प्रवक्ता एवम् उपप्रमुख हेमराज रेग्मीका अनुसार पछिल्लो दशकमा बालबालिकाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक छ ।
उहाँका अनुसार बालबालिकाको जन्म घट्दै जानु भविष्यका लागि समस्या हुन सक्छ । यसरी बालबालिकासम्बन्धी प्रतिवेदन तयार गर्नुको उद्देश्य बालबालिकाको पारिवारिक अवस्थाको अध्ययन, राष्ट्रिय, प्रादेशिक, जिल्लागत र कुनै कुनै सवालहरूमा पालिकासम्मको अवस्थाको पहिचान गर्न, बालबालिकाको शिक्षा, स्वास्थ्य, विवाह, बसाइँसराइ, अपाङ्गता, पारिवारिक जिम्मेवारी जस्ता सरोकारका विषयको विश्लेषण गर्नु लगायत रहेको कार्यालयले जनाएको छ ।