बुटवल । बुटवल उपमहानगरपालिकाले दूध डेरीको अनुगमनलाई निरन्तरता दिएको छ । सरकारले तोकेको गुणस्तर मापदण्ड भन्दा बिपरीत बजारमा दूध बिक्रि वितरण हुने गरेको पाईएपछि उमहानगपालिकाले अनुगमनलाई निरन्तता दिएको हो । अनुगमन टोलीले डेरी, दूध उद्योग तथा सप्लायर्सहरुको अनुगमन गरिहेको छ ।
सरकारले भैंसीको दुधमा न्यूनतम फ्याट ५ प्रतिशत , एस.एन.एफ. ८, गाईको दुधमा ३.५ प्रतिशत फ्याट , एस.एन.एफ. ७.५ र मिक्स दुधमा ३.५ प्रतिशत फ्याट एस.एन.एफ.को मात्रा ८ तोकेको छ ।
तर बजारमा १.८ प्रतिशत फ्याट र एस.एन.एफ. को मात्र कम भएको दुध विक्रि वितरण हुने गरेको पाईएपछि अनुगमनलाई निरन्तता दिईएको उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितीमा बजार अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा संकलन गरिएको दूधको नमुनलाई प्रयोगशालामा परिक्षणको लागि पठाईएको उहाँले जानकारी दिनुभयो । अत्याधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दूध बेच्ने गरेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक दीपक कुमार यादबले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा केही डेरी ब्यवसायीले अनुमति बिना नैं डेरीमै घ्यु, पनिर , तथा दूग्धजन्य पदार्थ उत्पादन गरी बिक्रि वितरण गरेको पाईएको उहाँले जानकारी दिनुभयो । केही दिन अघि बुटवलमा बिक्रि हुने दूधको नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा दूधमा फ्याट निकालिएर बेच्ने गरेको पाईएपछि अनुगमनलाई कडाईको साथमा लगिएको उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको भनाई छ ।
अहिले १० वटा डेरीको दूधको नमुना संकलन गरेर परीक्षणको लागि प्रयोगशालामा पठाएको र कुनै कैंफियत भेटिए तत्काल कारबाही गरिने उहाँले बताउनु भयो । उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले दूधको मूल्यमा एकरुपता कायम हुन नसकेको बताउनु भयो । पसलै पिच्छे दूधको मूल्य फरक रहेको उहाँको भनाई छ ।