पहिरोमा एकैदिन ११ जनाले गुमाए ज्यान, हालसम्म १६५ को मृत्यु

  • बुटवल ।  मनसुनजन्य प्रकोपबाट मंगलबार ११ जनाले ज्यान गुमाएका छन् भने १२ जना घाइते भएका छन्। चार जना बेपत्ता छन्।

    नेपाल प्रहरीका अनुसार बागलुङ र गुल्मीमा पहिरोमा परेर यो मानवीय क्षति भएको हो। बागलुङमा ८ जना र गुल्मीमा चार जनाको ज्यान गएको छ।

    यसैगरी फरक फरक स्थानमा चार जनाको डुबेर मृत्यु भएको छ भने चार जना मृत फेला परेका छन्।

    सुर्खेत, गुर्भाकोट नगरपालिका–१४ खैरेनी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने मिन बहादुर गुरुङको छोरा १० वर्षीय अविनाश गुरूङको मंगलबार दिउँसो मृत्यु भएको छ।

    काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरस्थित ढलको मकलमा छिरेर बगाउँदा रामेछाप खाँडादेवी गाउँपालिका–३ घर भइ पनौती नगरपालिका–५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदासको मंगलबार बिहान मृत्यु भएको छ। ढलको मकलमा छिरी बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पनौती, अस्थायी मनसुनजन्य विपद व्यवस्थापन अस्थायी सुरक्षा वेश पनौतीबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा सोही ठाउँस्थित खेतमा उनको शव फेला परेको हो।

    कञ्चनपुर, शुक्लाफाटा नगरपालिका–१२ दुवाहा बस्ने ५२ वर्षीय करन सिंह महराको सोही नगरपालिका–१२ कालागौडीस्थित पानी जम्मा भएको कल्भर्टमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ।

    खोटाङ, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी बतासे बस्ने ७३ वर्षीया पदम कुमारी घिमिरेको सोही ठाउँस्थित मखुखोलाले बगाएर मृत्यु भएको छ। सोमबार साँझ खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा मंगलबार बिहान शव फेला परेको हो।

    सप्तरी, छिन्नमस्ता गाउँपालिका–१ बीरपुरस्थित इँट्टा भट्टा नजिकैको बाटो छेउमा सिरहा लहान बस्ने ४५ वर्षीय पवन कुमार कर्ण मंगलबार मृत अवस्थामा फेला परेका छन्।

    बागलुङ, वडिगार्ड गाउँपालिका–५ टारीस्थित मध्यपहाडी लोकमार्गबाट सोही गाउँपालिकाको ५ नम्बर वडा कार्यालय जाने सडकखण्डको नालामा सोही ठाउँ बस्ने ६२ वर्षीय नर बहादुर घिमिरे मंगलबार मृत अवस्थामा फेला परेका छन्।

    मोरङ, बिराटनगर महानगरपालिका–१ बस्ने ९० वर्षीया तुलसी माया भण्डारी सोही ठाउँस्थित सिंघिया खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।

    बाँके, राप्तिसोनारी गाउँपालिका–२ सम्शेरगंज खल्लागाँउस्थित गोठमा हाल नाम, थर, वतन नखुलेका मंगल भनि बोलाउने अन्दाजी ६० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

    अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय ६५ जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५० जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६५ जनाको मृत्यु भएको हो।

    साथै काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ९८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

    साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १० जनाको उद्दार गरिएको छ। बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५१ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ।

    बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन्। २ सय ६४ वटा घर, ९९ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ७ सय ५० वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार २ सय ५९ घर परिवार विस्थापित भएका छन्।

    साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 Herne News All right reserved Site By : Himal Creation