बुटवल । रुपन्देही जिल्लामा रहेको लुम्बिनी साझेदारी बन भित्र ढलेपढेका रुखहरुलाई ब्यवस्थापन गरिएको छ । १३ सय २१ हेक्टर क्षेत्रमा फैलिएको लुम्बिनी साझेदारी बनलाई ८ भागमा विभाजन गरिएको छ । सालको रुखले भरिएको यो बनमा ८० वर्र्षे बालिचक्र र १० वर्षको पुनरुत्पादन अवधि राखिएको छ । यसैको आधारमा माहु रुख र साना रुखलाई छाडेर बुढा रुख भएको भागबाट कटान सुरु गरिन्छ ।
जहाँ रुख कटान , पुनरुत्पादन, र हुर्काउने वा काट्र्ने , उमार्ने र हुर्काउने क्रम चलिरहन्छ । यसरी चल्ने क्रियाकलापलाई नै बन सम्बद्र्धन प्रणालीमा आधारित बन ब्यवस्थापन भनिने रुपन्देहीका सिनियर डिभिजन बन अधिकृत प्रभात सापकोटाले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले बन सम्बद्र्धन प्रणालीमा आधारित बन ब्यवस्थापन सुरु गरेसँगै बनबाट आम्दानी र रोजगारी सृजना हुने गरेको छ ।
बनबाट भएको आम्दानीको २५ प्रतिशत रकम प्रदेश सरकारले प्राप्त गर्ने छ भने ७५ प्रतिशत बन समुहमा रहने प्रदेश सरकारले कानून बनाएको छ । समुहमा रहेको आम्दानी मध्ये ४० प्रतिशत रकमले बनको संरक्षणमा खर्च गरिने ब्यवस्था छ भने बाँकी रकम महिला ससक्तिकरण , गरिबी निवारण र विकास निर्माणमा खर्च हुने गरेको कपिलबस्तुका सिनियर डिभिजन बन अधिकृत बिजयराज सुवेदीले जानकारी दिनुभयो ।
९ लाख ७४ हजार ३ सय ८१ हेक्टर बन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा ११ वटा डिभिजन बन कार्यालयबाट ७२ हजार २ सय २९ हेक्टर बन क्षेत्रमा बन सम्बद्र्धन प्रणालीमा आधारित बन ब्यवस्थापन लागू गरिएको छ। जहाँ वर्षेनी २४ लाख ६ हजार ३ सय ३८ घनफिट काठ र ६ हजार ७ सय ९ चट्टा दाउरा उत्पादन हुने गरेको छ ।
प्रदेश सरकारले बन पैदावार विक्रिबाटै १ अर्ब ११ करोड ७३ लाख ३३ हजार वर्षेनी आम्दानी गर्ने छ । कटान ,मुछान, ढुवानी भई सःमिलसम्म पुर्याउदा मात्र १२ लाख १ हजार श्रमदिन रोजगारी सृजना हुने गरेको लुम्बिनी प्रदेश बन निर्देशानालयका उपसचिब यज्ञमुर्ति खनाल बताउनुहुन्छ ।