रुपन्देहीमा किसान कार्ड लागु हुने

  • बुटवल । रुपन्देहीका १६ वटै स्थानीय तहले किसान कार्ड लागु गर्ने भएका छन । वास्तविक किसानको पहिचान गरी पालिकाहरुले किसानहरुलाई किसान कार्ड वितरण गर्ने भएका हुन । जिल्ला समन्वय समिति रुपन्देही र स्थानीय तहहरु बिचको घुम्ती बैठकले किसान कार्ड लागु गर्ने निर्णय गरेको हो ।

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा उपमहानगरपालिकाको कार्यालयमा बसेको घुम्ती बैठकलेकिसान कार्ड लागु गर्ने, नदीजन्य पदार्थको उत्खनन्, डम्पिङको अवस्था र सडकमा धुलो नियन्त्रणका विषयमा छलफल भएको हो ।वास्तविक किसानको पहिचान हुन नसक्दा किसानहरु मर्कामा परेकाले किसान कार्डको आवश्यकता परेको जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापाईले बताउनु भयो ।

    किसान कार्डको लागि कार्यविधिको ड्रार्फ तयार गर्न बैठकले कृषि र पशुका बिज्ञहरुको सात सदस्यीय समिति गठन गरेको छ । समितिले भदौमा बस्ने घुम्ति बैठकमा ड्राफ्ट पेश गर्ने र सोही आधारमा पालिकाहरुले किसान कार्ड वितरण गर्ने प्रमुख चपाईले बताउनु भयो ।

    किसानले मलखाद प्राप्त गर्नको लागि अहिले समस्या परेको उहाँले बताउँदै किसान कार्ड लागु भएपछि आवश्यकताको आधारमा मलखाद वितरणमा सहजता आउने बताउनु भयो । किसान कार्ड लागु भएपछि अनुदान वितरणमा समेत सहजता आउँदा वास्तविक किसानलाई फाईदा पुग्ने चपाईको भनाई छ ।

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले किसान कार्ड लागू गर्दा वास्तविक किसानलाई पाईदा पुग्ने भएकाले सबै पालिकाले लागू गर्न आवश्यकता रहेको बताउनु भयो । रुपन्देही जिल्लामा शुद्धोधन र सियारी गाउँपालिकाले किसान कार्ड लागु गरेका छन । किसान कार्ड लागु भएपछि रसायनिक मल वितरण र अनुदान वितरणमा सहजता भएको सो पालिकाहरुले बताएका छन ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Herne News All right reserved Site By : Himal Creation