नेपाल हवाइ सुरक्षाका दृष्टिले अति जोखिमपूर्ण बन्दै गएको छ । सामान्यतया अतिदुर्गम क्षेत्रको बाहेक राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थमा हुने दुर्घटना अपवाद मानिन्छ । तर हामीकहाँ त्यस्ता दुर्घटना सामान्य भइसकेजस्तो देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको बुधवार आन्तरिक उडानतर्फ एउटा ठूलो दुर्घटना भयो ।
नियमित परीक्षण गर्न भनी यो विमानस्थलबाट उडेको सौर्य एयरलाइन्सको विमान भुइँ छाडेको २० सेकेण्डमै विमानस्थलकै एउटा कुनामा ठोक्किन पुग्यो । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई विमान जतिछिटो दूर्घटनामा र त्यति नै छिटो उद्दार गरिएको भनिएको अवस्थामा एक जनाबाहेक कसैको उद्धार गर्न सकिएन ।
विमानमा सवार चालकसहितको १९ मध्ये १८ जनाको मृत्यु भयो । यसकारण पनि यो ठूलो क्षतिवाला दुर्घटना मानिएको हो । देशको एउटै मात्र सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थलमा त उद्दारको यस्तो अवस्था हुन्छ भने अन्यत्र के होला भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन ।
करिब डेढ वर्षअघि काठमाडौंबाट पोखराकै लागि उडेको विमान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा हुँदा एक जना पनि जीवित रहेनन् । यसको अझ अर्को पक्ष केहो भने अहिले भएको दुर्घटनाग्रस्त यो विमानमा सवार सबै एक प्रकारले प्राविधिक नै थिए । त्यस्तो विमान मर्मतका लागि भनेर उडान भरेको केही समयमै दुर्घटनामा यसले नेपाली आकाश कति असुरक्षित हुँदै गएको छ भन्ने बुझाउँछ ।
दुर्घटनाको केही समयमा नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अग्नि नियन्त्रकलगायत नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त सहकार्यमा उद्दार कार्य थालियो । तर सवार यात्रु बचाउन सकिएन । एक जना चालक भने उछिट्टएको विमानको अग्रभागसँगै विमानबाट छुटिन गए । त्यो विमानस्थल छेउको एउटा कन्टेनरभित्र पसेको कारण आगलागीबाट जोगियो र एक पाइलट जीवित भेटिए ।
यो नित्तान्त संयोगको कुरा थियो । यसले हवाई दुर्घटनाको भयावह अवस्थालाई । अन्तर्राट्रिय विमानस्थल उद्दारका लागि सहज हुने उपकरणसहितको हुन्छ । यो ठाउँमा पनि लागेको आगो निभाउन धेरैबेर लागेन । तर दुर्घटनाको केही सेकेण्डमा नै यात्रुहरू जलिसकेका थिए ।
कतिपय मृत शरीर चिन्ने अवस्थामा पनि थिएनन् । मृत शरीर आफन्तलाई बुझाउन पनि लामै समय लागेको थियो । यसले पनि विमान यात्राको भयावह अवस्थालाई नै बुझाउँछ । यो दुर्घटनाले सबै प्राविधिकहरू सवार रहेको उडानमा त यस प्रकारको असुरक्षा रहन्छ भने सामान्य उडानमा के होला भन्ने प्रश्न आम तहमा नै उठेको हुनुपर्छ ।
यो उडान पोखरामा रहेको मर्मतस्थलका लागि रहेको बताइएको छ । प्राविधिक परीक्षण लागि पोखरा जान लागेको भन्ने त प्रष्ट भयो नै । त्यसो हो भने यसमा असम्बन्धित मानिसलाई सवार नगराउनुपर्ने हो । निश्चित घण्टा उडेपछि नियमित तालिकाअनुसार प्राविधिक परीक्षण गर्नुपर्छ नै । त्यसका लागि पोखरा जान लागेको भनिएको छ । तर यो दुर्घटनामा एउटा परिवारका तीन जना परेका छन् । परीक्षणका लागि ह्याङ्गरमा राख्न लगिएको विमानमा चार वर्षका बालक समेत रहेको खुलेको छ ।
नियमित जहाज परीक्षण गर्न लगिँदा एयरलायन्सका प्राविधिकहरू मात्रै जहाजमा सवार हुनुपर्ने हो तर यो उठानमा त्योभन्दा भिन्न रूप देखियो । उड्डयन नियमलाई पालना गरिएको भए यति ठूलो मानवीय क्षति हुने थिएन कि ? नियमन गर्ने निकायले यस्ता कुराको किन ख्याल गरेन भन्ने जस्ता प्रश्नहरू उठेका छन् । उडानको असुरक्षा कुनै एउटा कारणबाट मात्र हुँदैन । यही उडानमा भएका यस्ता कमजोरीका बारे जिम्मेवार पक्षले जवाफ दिनुपर्छ ।
अर्को कुरा नियमित परिक्षणको लागि पोखरा नै जानुपर्ने बाध्यता किन ? के काठमाडौंमा परीक्षण गर्न सकिदैन थियो ?
सरकारले दुर्घटनापछि जाँचबुझ आयोग बनाउने त नियमित प्रक्रिया नै भै सकेको छ । विगतमा पनि यस्ता आयोगहरु बन्ने गरेको थिए नै । तर त्यसपछि ती प्रतिवेदनहरु कति कार्यान्वयन भए भन्ने महत्वपूर्ण हो । गल्ती र त्रुटीहरुबाट सिक्न सकिदैन भने यस्ता आयोगहरुको बनाउनुको के अर्थ हुन्छ र ?